Technology
जीवनको स्थायित्व र प्रकृतिको उत्सव- भारतका जीवमण्डल आरक्षित क्षेत्रहरू
जीवमण्डल आरक्षित क्षेत्र अन्तर्राष्ट्रिय दिवसको उत्सव मनाउँदै
Posted On:
03 NOV 2025 11:44AM
|
मुख्य बुँदाहरू
- देशमा १८ वटा जीवमण्डल संरक्षण क्षेत्रहरू छन्, जसले ९१,४२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छ। तीमध्ये १३ वटा युनेस्कोद्वारा मान्यता प्राप्त छन्।
- यो कार्यक्रम केन्द्रीय प्रायोजित योजना अन्तर्गत सञ्चालन हुन्छ, जसमा वित्तीय साझेदारीको अनुपात ६०:४० रहेको छ, र उत्तरपूर्वी तथा हिमाली राज्यहरूको लागि ९०:१० को अनुपात लागू हुँदछ।
- भारत विश्वमै वन क्षेत्रफलका दृष्टिले ९ औं स्थानमा र वार्षिक वन वृद्धिमा तेस्रो स्थानमा रहेको छ (एफएओ, २०२५)
- २०२५ मा कोल्ड डेजर्ट जीवमण्डल संरक्षण क्षेत्रको समावेशले भारतको वैश्विक संरक्षण भूमिकामा बृद्धि भइरहेको कुरा दर्शाउँदछ।
- जैवविविधता संरक्षणको बजेट २०२४-२५ मा ५ करोड़ रूपियाँबाट दोब्बर गरेर २०२५-२६ मा १० करोड़ रूपियाँ गरिएको छ।
- जीवमण्डल संरक्षण क्षेत्रहरूले जैवविविधताको संरक्षणलाई समुदायको कल्याण र दीर्घमियादी जीविकोपार्जनको अवसरसंग जोड्दछ।
- प्रोजेक्ट टाइगर, प्रोजेक्ट एलिफेन्ट, र ग्रीन इन्डिया मिसन जस्ता राष्ट्रिय पहलहरूले जीवमण्डल संरक्षित क्षेत्रका प्रयासहरूलाई पूरक बनाउँदछ।
|
परिचय
३ नोभेम्बरको दिन विश्वले अन्तर्राष्ट्रिय जीवमण्डल संरक्षण क्षेत्र दिवस मनाउँदछ, जहाँ प्रकृति र समुदायहरूसंगै मेलमिलापमा बस्ने क्षेत्रहरूलाई सम्मान गरिन्छ। यी संरक्षित क्षेत्रहरूले जीवित प्रयोगशालाका रूपमा काम गर्दछ, जसले दिगो विकास, वातावरणीय संरक्षण, र समुदायको कल्याणका व्यावहारिक नमूनाहरू देखाउँदछन्। युनेस्कोद्वारा निर्दिष्ट यो दिवसले जीवमण्डल आरक्षित क्षेत्रहरूको महत्त्वलाई जोड़ दिंदछ, जसले वैज्ञानिक अनुसन्धानलाई प्रवर्द्धन गर्न, पारिस्थितिकी र सांस्कृतिक विविधताको संरक्षण गर्न, अनि मानिस र पृथ्वीबिच सन्तुलित सम्बन्ध विकास गर्न महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दछ।
विविध भूभागहरूमा फैलिएका पहाड़, वन, तट, र टापुहरू जस्ता आफ्नो जीवमण्डल आरक्षित क्षेत्रहरूको नेटवर्कलाई प्रकाश पार्दै विश्वसितै भारतले पनि यो दिवस मनाउँदछ। यी क्षेत्रहरूले जैविक विविधताको संरक्षणमा भारतको प्रतिबद्धता र मानिस तथा प्रकृतिबिच सुसंगत जीवन प्रवर्द्धन गर्ने प्रयासलाई देखाउँदछ, जुन राष्ट्रिय पहलहरू र युनेस्को मानव र जीवमण्डल (एमएबी) कार्यक्रम जस्ता अन्तर्राष्ट्रिय ढाँचाहरू मार्फत सुनिश्चित गरिएको छ।
भारत सरकारका चालु प्रयासहरूले जीवमण्डल आरक्षित क्षेत्रहरूको पारिस्थितिक सम्पदाको संरक्षण गर्न र वर्तमान तथा भावी पुस्ताहरूको कल्याण प्रवर्द्धन गर्न सक्ने सम्भावनालाई बलियो बनाउँदछ। यी संरक्षित क्षेत्रहरूले निरन्तर प्रमाणित गरिरहेका छन् कि दिगो जीवन र संरक्षण हातेमालो गरेर अघि बढ्न सक्छ।
जीवमण्डल आरक्षित क्षेत्रहरू के हुन्?

जीवमण्डल आरक्षित क्षेत्रहरू ती क्षेत्रहरू हुन् जुन जैवविविधताको संरक्षण र दिगो विकास प्रवर्द्धन गर्न राष्ट्रिय सरकारहरूले पहिचान गरेका हुन्छन्। यसलाई ‘दिगो विकासका लागि अध्ययन स्थान’ भनेर वर्णन गरिएको छ। यी क्षेत्रहरूले सामाजिक र पारिस्थितिक प्रणालीहरूबिचको परिवर्तन र अन्तरक्रियाहरू बुझ्न र व्यवस्थापन गर्न अन्तर विषयगत दृष्टिकोणहरू परीक्षण गर्ने स्थलका रूपमा काम गर्दछ, जसमा द्वन्द्व रोकथाम र जैविविधताको व्यवस्थापन पनि समावेश छ। जीवमण्डल आरक्षित क्षेत्रहरूले स्थलीय, समुद्री र तटीय पारिस्थितिकी प्रणालीहरूलाई समेट्दछ। प्रत्येक स्थलले जैविक विविधताको संरक्षण र यसको दिगो प्रयोगबिच सन्तुलन मिलाउने समाधानहरू प्रवर्द्धन गर्दछ।
जीवमण्डल आरक्षित क्षेत्रहरूलाई राष्ट्रिय सरकारले मनोनित गर्दछ र यी क्षेत्रहरू राज्यको सार्वभौमिक अधिकार अन्तर्गत रहन्छ, जहाँ यो स्थापित छ।
यसरी जीवमण्डल आरक्षित क्षेत्रहरू मानिस र प्रकृति दुवैका लागि विशेष वातावरण हुन् र यी जीवित उदाहरण हुन् कि कसरी मानव जाति र प्रकृतिले एकअर्काका आवश्यकताप्रति सम्मान जनाउँदै सहअस्तित्व गर्न सक्छन्।
|
के तपाईलाई थाहा छ?
विश्वभरिका जीवमण्डल आरक्षित क्षेत्रमा २६ करोड़भन्दा बढ़ी मानिसहरू बसोबास गर्छन्। यी सम्पूर्ण क्षेत्रहरूले ७ मिलियन भन्दा बढ़ी वर्ग किलोमिटर क्षेत्रफलको संरक्षण गर्दछन्, जुन लगभग अष्ट्रेलियाको आकार बराबर छ।
|
युनेस्को मानव र जीवमण्डल कार्यक्रम
जीवमण्डल आरक्षित क्षेत्रहरू स्थलीय, तटीय वा पारिस्थितिकी प्रणालीहरूका क्षेत्र हुन् जसलाई युनेस्कोको मानव र जीवमण्डल (एमएबी) कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ। यी आरक्षित क्षेत्रहरूलाई युनेस्कोले निर्दिष्ट गरेको विश्व जीवमण्डल आरक्षित क्षेत्र नेटवर्क (डब्ल्यूएनबीआर) मा समावेश गर्नु अघि विशिष्ट मापदण्ड र शर्तहरू पूरा गर्नुपर्छ। उक्त नेटवर्कले विश्वका मुख्य पारिस्थितिकी प्रणालीका प्रकारहरू र भू-दृश्यहरूलाई प्रतिनिधित्व गर्दछ, जसले जैवविविधताको संरक्षण, अनुसन्धान र निगरानी प्रवर्द्धन गर्न र दिगो विकासका मोडेलहरू प्रदान गर्न समर्पित छ।
यसले प्राकृतिक र सामाजिक विज्ञानलाई एकीकृत गर्दै मानव जीवनस्तर सुधार्न र प्राकृतिक तथा व्यवस्थापन गरिएका पारिस्थितिकी प्रणालीहरूको सुरक्षा गर्ने लक्ष्य राख्दछ, यसरी आर्थिक विकासका नवीनतम दृष्टिकोणहरू प्रवर्द्धन गर्दछ जुन सामाजिक र सांस्कृतिक रूपमा उपयुक्त र वातावरणीय रूपमा दिगो हुँदछ।
विश्व जैव आरक्षित क्षेत्र नेटवर्कभित्र पर्ने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त स्थलहरूमा केन्द्रित भएर, एमएबी कार्यक्रमले यी तलका विषयहरूमाथि प्रयास गर्दछ:
- मानव र प्राकृतिक गतिविधिहरूबाट जीवमण्डलमा हुने परिवर्तनहरू पहिचान गर्ने अनि यी परिवर्तनहरूले विशेष गरी जलवायु परिवर्तनको सन्दर्भमा

मानव र वातावरणमा पर्ने प्रभावहरूको मूल्याङ्कन गर्ने।
- जैविक र सांस्कृतिक विविधताको ह्रासबिच पारिस्थितिकी प्रणाली र सामाजिक-आर्थिक प्रक्रियाहरूबिचको अन्तर सम्बन्ध अध्ययन गर्ने, जसले मानव कल्याणका लागि पारिस्थितिकी प्रणालीले प्रदान गर्ने सेवा प्रभावित हुँदछ।
- तीव्र शहरीकरण र ऊर्जा उपभोगलाई वातावरणीय परिवर्तनका प्रेरक तत्वको रूपमा हेर्दै आधारभूत मानव कल्याण र बस्नयोग्य वातावरण सुनिश्चित गर्ने।
- वातावरणीय समस्या र समाधानबारे ज्ञानको आदान-प्रदान गर्ने, र दिगो विकासका लागि वातावरणीय शिक्षा प्रवर्द्धन गर्ने।
डब्ल्यूएनबीआरले उत्कृष्ट स्थलहरूको गतिशील नेटवर्कको रूपमा काम गर्दछ जसले क्षेत्रहरूबिच सहकार्यलाई प्रोत्साहन दिंदछ र अनुभवको आदान-प्रदान, क्षमता विकास, र जीवमण्डल आरक्षित क्षेत्रहरूबिच उत्तम अभ्यासमार्फत अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्दछ।
एमएबी कार्यक्रमहरू युनेस्को सदस्य राष्ट्रहरूको मार्गदर्शनमा सञ्चालन हुँदछ।
यसको मुख्य शासन निकाय अन्तर्राष्ट्रिय समन्वय परिषद् (एमएबी-आईसीसी) हो, जसलाई एमएबी परिषद् पनि भनिन्छ र यो ३४ सदस्य राष्ट्रहरूले बनेको छ।
भारतका जीवमण्डल आरक्षित क्षेत्रहरू

भारतमा १८ सूचित जीवमण्डल आरक्षित क्षेत्रहरू छन्, जसले लगभग ९१,४२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ, जसमध्ये १३ वटा युनेस्कोको विश्व जीवमण्डल आरक्षित क्षेत्र नेटवर्क (डब्ल्यूएनबीआर) द्वारा मान्यता प्राप्त छ। यी संरक्षित क्षेत्रहरू पहाड़, वन, तट, र टापुहरू जस्ता विविध भू-दृश्यहरूमा फैलिएको छ, जसले भारतको पारिस्थितिक समृद्धि र जैवविविधताको संरक्षणमा प्रतिबद्धता देखाउँदछ अनि स्थानीय समुदायहरूको समर्थन पनि सुनिश्चित गर्दछ।
पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय (एमओईएफसीसी) को जीवमण्डल आरक्षित क्षेत्र शाखा जैवविविधता संरक्षणका लागि केन्द्रीय प्रायोजित योजना (सीएसएस) सञ्चालन गर्दछ, जुन व्यापक प्राकृतिक स्रोत र पारिस्थितिकी प्रणाली संरक्षण (सीएनआरई) कार्यक्रमको एउटा उप-योजनाको रूपमा सञ्चालित छ।
यस योजनाले लक्षित संरक्षण र विकास गतिविधिहरूका लागि राज्यहरूलाई वित्तीय सहायता प्रदान गर्दछ, जसको कार्यान्वयन मुख्य रूपमा राज्य वन विभागहरूद्वारा सम्पन्न गरिन्छ।

यस योजनाले लागत-साझेदारी मोडेल अनुसरण गर्दछ: ६०:४० (केन्द्रीय: राज्य) र उत्तरपूर्वी तथा हिमाली राज्यहरूको लागि ९०:१० छ।
सीएनआरई अन्तर्गत जैवविविधता संरक्षणका लागि बजेट विनियोजन २०२४-२५ मा रू.५ करोड़बाट २०२५-२६ मा रू.१० करोड़ अर्थात दोब्बर गरिएको छ। जसले दिगो पारिस्थितिकी प्रणाली व्यवस्थापनप्रति सरकारको बढ्दो प्रतिबद्धता दर्शाउँदछ।
यस योजनाको विशेषता स्थानीय समुदायहरूमा केन्द्रित हुनु हो, विशेषगरी जीवमण्डल आरक्षित क्षेत्रहरूभित्र वरीपरी बसोबास गर्ने समुदायहरूमा। वैकल्पिक जीविकोपार्जन, पारिस्थितिक विकास गतिविधिहरू, र दिगो स्रोत व्यवस्थापन प्रवर्द्धन गरी यस योजनाले मुख्य जैवविविधता क्षेत्रहरूमा जैविक दबाव घटाउन मद्दत गर्दछ।
विशेष जोड़ बफर र ट्रान्जिसन क्षेत्रहरूमा दिइन्छ, जसले महत्वपूर्ण पारिस्थितिकी प्रणालीहरूमा निर्भरता कम गर्न र दीर्घकालीन दिगोपन सुनिश्चित गर्न अतिरिक्त समर्थन प्रदान गर्दछ।
भारतका जीवमण्डल आरक्षित क्षेत्रहरूले जैवविविधताको संरक्षण मात्र गर्दैन तर दिगो विकासका लागि जीवित प्रयोगशालाका रूपमा काम गर्दछ, जसले पारिस्थितिक संरक्षणलाई समुदायको कल्याणसंग एकीकृत गर्दछ। यी क्षेत्रहरूले अन्य राष्ट्रिय पहलहरू, जस्तै प्रोजेक्ट टाइगर, प्रोजेक्ट एलिफेन्ट, ग्रीन इण्डिया मिशन, र राष्ट्रिय जैवविविधता कार्य योजनासंग पूरक रूपमा काम गर्दछन्, जसले संरक्षण र दिगो जीविकोपार्जनको लागि समग्र ढाँचा सृजना गर्दछ।
मूलत, भारतको जीवमण्डल आरक्षित क्षेत्र कार्यक्रमले प्रकृति र मानव विकासबिचको सन्तुलनको उदाहरण प्रस्तुत गर्दछ अनि कसरी वातावरणीय संरक्षण, वैज्ञानिक अनुसन्धान, र सामाजिक-आर्थिक समर्थनले सहअस्तित्वमा रहँदै पारिस्थितिक र समुदायिक कल्याण सुनिश्चित गर्नसक्छ भन्ने कुरा दर्शाउँदछ।
|
सितम्बर २०२५ मा भारतको हिमाचल प्रदेशस्थित कोल्ड डेजर्ट जीवमण्डल आरक्षित क्षेत्रलाई युनेस्कोको विश्व जीवमण्डल आरक्षित क्षेत्र नेटवर्कमा समावेश गरिएको थियो।
|
संरक्षण प्रयासहरूको प्रभाव
भारतमा जीवमण्डल आरक्षित क्षेत्रहरूको स्थापनाले दीर्घकालीन राष्ट्रिय दृष्टिकोणको प्रतिनिधित्व गर्दछ जसले युनेस्कोको मानव र जीवमण्डल (एमएबी) कार्यक्रम अन्तर्गत विश्वव्यापी वातावरणीय लक्ष्यहरूसित मेल खाने दिगो विकास र संरक्षणलाई प्राथमिकता दिंदछ। जीवमण्डल आरक्षित क्षेत्रहरूको प्रवर्द्धन र व्यवस्थापनमा भारत अग्रिम पंक्तिमा छ, जसले जैवविविधताको संरक्षण, स्थानीय समुदायहरूको सशक्तिकरण र दिगो पारिस्थितिकी प्रणाली अभ्यासको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता देखाउँदछ।
- जीवमण्डल आरक्षित क्षेत्रहरूले पारिस्थितिकी प्रणालीको सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण सुनिश्चित गर्न र संवेदनशील आवासीय क्षेत्रहरूमा जलवायु प्रतिरोधात्मक क्षमता बलियो बनाउन महत्वपूर्ण योगदान दिएका छन्। यी क्षेत्रहरूले दिगो अभ्यासका लागि प्रदर्शन स्थलको रूपमा काम गर्दछ र वैकल्पिक जीविकोपार्जन उपायहरू मार्फत वनमा निर्भर जनसंख्यालाई आर्थिक र जीविकोपार्जन सुरक्षा प्रदान गर्दछ।
- भारतमा जीवमण्डल आरक्षित क्षेत्र कार्यक्रमको कार्यान्वयनले वन स्वास्थ्य सूचकाङ्कमा पनि मापन योग्य सुधारलाई समर्थन गरेको छ। अक्टोबर २०२५ सम्म खाद्य तथा कृषि संगठन (एफएओ) को ग्लोबल फरेस्ट रिसोर्सेज असेस्मेन्ट (जीएफआरए) २०२५ अनुसार भारत कुल वन क्षेत्रफलमा विश्वमै ९ औं र वार्षिक वन वृद्धिमा तेस्रो स्थानमा रहेको छ।
- निरन्तर निगरानी, समुदायको सहभागितामा वृद्धि, र जीवमण्डल आरक्षित क्षेत्र नेटवर्कको विस्तारले सामूहिक रूपमा वन र जैवविविधता संरक्षणमा भारतले विश्व नेतृत्वमा स्थान बलियो बनाएको छ।
- जीवमण्डल आरक्षित क्षेत्रहरूले आवास संरक्षणलाई दिगो समुदाय विकाससंग जोड्दै भारतको व्यापक संरक्षण ढाँचालाई पूरक बनाउँदछ। यी क्षेत्रहरूले जीवित प्रयोगशालाको रूपमा काम गर्दछ जहाँ समेकित दृष्टिकोणहरू एकीकृत भएर पारिस्थितिकी प्रणालीको प्रतिरोधात्मक क्षमता बलियो बनाउँदछ र विविध भू-दृश्यमा प्रजातिहरूको संरक्षण सुनिश्चित गर्दछ।
|
केही राष्ट्रिय योजनाहरू जीवमण्डल आरक्षित क्षेत्रका उद्देश्यहरूसित मेल खाने गरी सञ्चालन हुँदछ, जसले सामूहिक रूपमा आवास संरक्षण, दिगो स्रोतको प्रयोग, र समुदाय विकासमा योगदान पुर्याउँदछ। तीमध्ये केही यस प्रकार छन्:
- प्रोजेक्ट टाइगर – १९७३ मा शुरू भएको भारतको प्रमुख संरक्षण पहल हो, जसले २०२३ मा सफलतापूर्वक ५० वर्ष पूरा गरेको छ। यो समर्पित आरक्षित क्षेत्र कड़ा सुरक्षा उपायमार्फत बाघ संरक्षणमा केन्द्रित छ र बाघको जनसंख्या पुनरुत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
- प्रोजेक्ट एलिफेन्ट – वैश्विक एशियाली हात्ती जनसंख्याको ६०% भन्दा बढ़ी भारतमा बसोबास गर्दछ र यसले यी शानदार जनावरहरूको संरक्षण र सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण कदम उठाएको छ। प्रोजेक्ट एलिफेन्ट लामो अवधिको लागि हात्तीहरूलाई उनीहरूको प्राकृतिक आवासमा जीवीत राख्ने लक्ष्य सहितको प्रमुख पहल हो। यो कार्यक्रम आवास संरक्षण, मानव-हात्ती द्वन्द्व न्यूनीकरण, र बन्दी हात्तीहरूको कल्याणमा केन्द्रित छ, जसले भारतको हात्ती संरक्षणप्रति गहिरो सांस्कृतिक र पारिस्थितिक प्रतिबद्धतालाई दर्शाउँदछ।
- वन्यजन्तु आवासको समेकित विकास (आईडीडब्ल्यूएच) योजना – यो केन्द्रीय प्रायोजित योजनाले राज्य र केन्द्र शासित प्रदेश सरकारहरूलाई वन्यजन्तु संरक्षण गतिविधिहरूका लागि वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ।
- राष्ट्रिय जैविक विविधता कार्य योजना (एनबीएपी) – २००२ को जैविक विविधता ऐन अन्तर्गत स्थापना गरिएको एनबीएपीलाई भारतका विशाल जैविक स्रोतहरू र सम्बन्धित पारम्परिक ज्ञानमा पहुँच नियन्त्रण गर्ने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
- ईको-संवेदनशील क्षेत्रहरू (ईएसजेड) र वन्यजन्तु क्यारिडोरहरू – आरक्षित क्षेत्रहरू जस्तै राष्ट्रिय निकुञ्ज र वन्यजन्तु अभियारणहरू वरीपरी ईको-संवेदनशील क्षेत्रहरू स्थापना गरिन्छ। ईएसजेड घोषणा गर्ने उद्देश्य विशेष पारिस्थितिकी प्रणाली जस्तै आरक्षित क्षेत्र वा अन्य प्राकृतिक स्थलहरूको लागि केही प्रकारको “शक एब्जरबर” सिर्जना गर्नु हो र यसलाई उच्च आरक्षित भएको क्षेत्रबाट कम आरक्षित भएको क्षेत्रमा रूपान्तर क्षेत्रको रूपमा कार्य गर्न डिजाइन गरिएको हो।
- ग्रीन इण्डिया मिशन – यस मिशनको उद्देश्य भारतको वन आवरणको संरक्षण, पुनर्स्थापना र सुधार गर्नुका साथै जलवायु परिवर्तनसंग लड्नु पनि हो। ग्रीन इण्डिया मिशन जैवविविधता, जलस्रोत, र म्यान्ग्रोभ तथा आर्द्रभूमि जस्ता पारिस्थितिकी प्रणाली सुधारमा केन्द्रित छ, साथै यसले कार्बन सोस्ने प्रक्रियामा सहयोग पुर्याउँदछ।
|
निष्कर्ष
भारतले अन्तर्राष्ट्रिय जीवमण्डल आरक्षित क्षेत्र दिवस मनाउनु यसको जैवविविधता संरक्षण र दिगो विकासप्रति दीर्घकालीन प्रतिबद्धतमाथि प्रकाश पार्दछ। पारिस्थितिक संरक्षणलाई समुदाय सशक्तिकरणसित एकीकृत गर्दै भारतका जीवमण्डल आरक्षित क्षेत्रहरूले प्रकृति र मानवबिचको सद्भावको जीवित उदाहरणको रूपमा काम गर्दछ, जसलाई राष्ट्रिय नीतिहरू र युनेस्कोको मानव र जीवमण्डल कार्यक्रम जस्ता अन्तर्राष्ट्रिय साझेदारीहरूले समर्थन गर्दछ। आरक्षित क्षेत्रहरूको बढ्दो नेटवर्क, वन आवरणको वृद्धि, र नवप्रवर्तनशील तथा समावेशी दृष्टिकोणका लागि सक्रिय सहकार्यसहित, भारत विश्व संरक्षणमा मापदण्ड निर्धारित गर्दै अघि बढ़िरहेको छ। यी प्रयासहरूले पारिस्थितिक सम्पदाहरू र स्थानीय समुदायहरू दुवैलाई समृद्ध बनाउन सुनिश्चित गर्दछ, र वर्तमान तथा भावी पिढ़ीका लागि दिगो जीवनका क्षेत्रमा भारतको नेतृत्व भूमिका बलियो बनाउँदछ।
सन्दर्भहरू
युनेस्को
https://www.unesco.org/en/days/biosphere-reserves
https://www.unesco.org/en/mab/wnbr/about?hub=66369
पर्यावरण, वन अनि जलवायु परिवर्तन मन्त्रालय
https://www.pib.gov.in/PressReleseDetail.aspx?PRID=1499053
https://www.pib.gov.in/newsite/erelcontent.aspx?relid=65174
https://moef.gov.in/uploads/pdf-uploads/English_Annual_Report_2024-25.pdf
https://moef.gov.in/uploads/pdf/Approved%20copy%20of%20Website%20note%20of%20BR.pdf
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2172428
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2181416
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2035038
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2182001
संयुक्त राष्ट्रको खाद्य एवं कृषि संगठन
https://openknowledge.fao.org/server/api/core/bitstreams/2dee6e93-1988-4659-aa89-30dd20b43b15/content/FRA-2025/forest-characteristics.html#planted-forest
पीआईबी मुख्यालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2182269
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2107821
https://www.pib.gov.in/PressNoteDetails.aspx?NoteId=153994&ModuleId=3
एनसीईआरटी
https://ncert.nic.in/textbook/pdf/lebo113.pdf
********
एमपीएस/टीडब्ल्यूबी
(Backgrounder ID: 155986)
Visitor Counter : 5
Provide suggestions / comments